अवैध सम्बन्धपछि सुपारी दिएर युवतीले हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट पुष्टी






अत्तरिया- गोदावरी नगरपालिका-५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले रानाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी ३७ वर्षीया जयन्ती चौधरीलाई बिहिबार पत्रकार सम्मलेनमार्फत सार्वजनिक गरेको हो ।
सोही ठाउँकी ती युवतीले साबिती बयानका क्रममा रानाले आफुलाई सताइरहने गरेका कारण हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छिन् । उनले आफ्ना नाता पर्ने एक युवक र उनका सहकर्मीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको समेत स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । फागुन १५ गते गेटीमा मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेकी छिन् ।
हत्याकाण्डकी आरोपित अन्दाजी ३६ वर्षीया युवतीले आफूले रानाको हत्या योजना बनाएको भन्दै प्रहरी समक्ष साबिती बयान दिएकी हुन् । विगत केही महिनादेखि मृतक रानाले मानसिक तनाव दिइरहेको भन्दै उनले हत्याको योजना बुनेको भन्दै बयान दिएको एक प्रहरी अधिकारीले बताए । आरोपित युवती केही समयदेखि मृतक शिवचरण रानासँगको प्रेम सम्बधमा थिइन् । दुवै विवाहित भएकाले त्यो सम्बन्ध एउटै गाउँको समाजले स्वीकार गर्ने कुरै थिएन ।
दुवैजना सम्बन्धपछि नजिक बनेका थिए । यतिसम्मकी शिवचरणले पारिवारिक काममा समेत सहयोग गर्ने गरेको युवतीले बताइन् । दुवैको हिमचिम धेरै भएपछि एकदिन युवतीका श्रीमानले दुवैलाई रंगेहात आफ्नै घरमा फेला पारे । त्यही दिन युवतीका श्रीमानले उनलाई घरबाट निकालेका थिए । तर शिवचरणले दुई लाख दिने र अबबाट नभेट्ने सहमतिपछि युवतीका श्रीमानले युवतीलाई पुनः स्वीकारे । त्यति भइसकेपछि शिवचरण मानेनन् । उनले फेरि युवतीलाई भेट्ने प्रयास गरिरहे । त्यसक्रममा शिवचरण विभिन्न बहाना बनाएर आफुलाई भेट्ने गरेको युवतीले बयानमा बताएकी छिन् ।
सोही क्रममा एकदिन सँगै बसेका बेला शिवचरणको मोबाइलमा एक अर्की युवतीको फोन आएको थियो । घरमा एक श्रीमती र आफुबाहेक अर्कै केटीसँग शिवचरण प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि युवतीको मनमा घृणा पैदा भएको थियो । उनले त्यसो नगर्न आग्रह गरेपनि शिवचरणले धम्की दिएपछि युवतीमा बदलाको भावना आएको थियो ।
शिवचरणले भेट्नका लागि सताइरहने र युवतीमा बदलाको भावना आएपछि उनले आफ्नो पीडा एक महिनाअघि एक नातेदारलाई सुनाएकी थिइन् । त्यही दिन बनेको थियो शिवचरण रानाको हत्या योजना । हत्याका लागि युवतीले ती नातेदारलाई ४० हजार दिएकी थिइन् । तर अहिले नै हत्या गर्न उनले बताएकी थिइन् ।
हत्याको योजना बनेपछि ती युवतीका नातेदारले गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका रानाको दैनिकीलाई नजिकबाट नियाल्दै थिए । शिवचरण बिहान भैँसी दुहुन पसलबाट घर फर्किने गरेका थिए । उनी सधै बिहान ४ बजेको समयमा भैँसी दुहुन घर जाने गरेको ती युवकले पत्तो पाए र हत्या गर्ने तयारी गरे । हत्या आरोपमा पक्राउ परेकी युवतीका ती नातेदारले आफ्ना एक सहकर्मीलाई समेत हत्या योजनामा सामेल गरेका थिए ।
त्यसपछि हत्या हुनुपूर्व एकदिन शिवचरण हिड्ने बाटो नजिकै एक निर्माणधिन भवनमा ती दुवै युवक ढुकेर बसेका थिए । तर योजनाअनुसार शिवचरण बिहान ४ बजे पसलबाट घरतर्फ आएनन् । बिहान ६ बजेपछि मात्रै पसलबाट घर आएकाले त्यो दिन उनीहरुको योजना सफल बनेन ।
अर्कोदिन ती दुवै हत्याका आरोपित ढिलोसम्म सुतेकाले शिवचरण उनीहरुको चङगुलमा फस्न सकेनन् । उनी घर पुगे तर हत्याका आरोपित सुतिरहे । यी कुरा पक्राउ परेकी आरोपित युवतीले नियाली रहेकी थिइन् । दुई पटकको योजना विफल बनेपछि युवतीलाई चिन्ता भइरहेको थियो । उता शिवचरण भेट्न भन्दै सताइरहने भएकाले ती युवती उक्त तनावलाई छिट्टै सल्टाउन चाहान्थिन् ।
हत्या भएको/नभएको पुष्टि गर्नका लागि युवकहरु र युवतीबीच एउटा ‘कोड’बारे सल्लाह भएको थियो । ‘कोड’ अनुसार युवकहरु ढुकेर बस्ने स्थानमा रक्सीको बोतल राखिएको थियो । बोतल भरिएको भए हत्या भएको छैन, हत्या भएको भए रित्तो बोतल नै युवतीले बुझ्ने कोड थियो । हत्या भएको दिन फागुन १५ गते ती युवती आफ्नो घरबाट पसल जाने बहानामा निस्केकी थिइन् । तर कोड अनुसार रक्सीको खाली बोतल देखेपछि शिवचरणको हत्या भइसक्यो भनेर उनी विश्वस्त भइन् ।
धारिलो हतियार प्रयोग गरी हत्या भएको दिनबाटै अनुसन्धान गरेको प्रहरीले शिवचरण र युवतीबीचको सम्बन्धबारे खबर पाइसकेको थियो । उनीहरुबीच विगतमा भएको दुई लाखको सम्झौताबारे चाल पाएपछि युवतीलाई नियन्त्रणमा लिएर गहिरो अनुसन्धान गरेको प्रहरी समक्ष युवतीले बारम्बार अपराध अस्वीकार गर्दै आएकी थिइन् ।
३/४ पटकसम्म नियन्त्रणमा लिएर सोछपुछ गर्दा समेत युवतीले मुख नखोलेपछि प्रहरीको हात युवतीले प्रयोग गर्दै आइरहेको अर्को सीमकार्ड लाग्यो। सो सीमकार्डमा शिवचरण र युवतीबीच भएका ‘कलडिटेल’ भेटिएपछि अन्ततः युवती गलिन र उनले आफ्नो अपराध स्वीकार गरिन ।



