सुदूरपश्चिमका बजारमा प्लास्टिकका बोतलमा बेचिने पानी समेत दूषित

धनगढी– सुदूरपश्चिममा ह्याण्डपम्प र बोरिङ्गको पानीसँगै अधिकांश उद्योगले प्लास्टिकको बोतलमा बेच्ने प्रशोधित पानी पनि न्यून गुणस्तरीय र दूषित रहेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षको ८ महिनामा प्रशोधित पानी अर्थात् प्लास्टिकका बोतलमा बेचिने पानीका ३९ वटा नमूना परीक्षण गरेको थियो। ती मध्ये ८ उद्योगले उत्पादन गरेका पानी गुणस्तरहिन र दूषित रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइरालाले न्यून गुणस्तरीय र दूषित पाइएपछि कैलालीको वाटर इन्डस्ट्रिज, न्यू एभरेष्ट अनुज उद्योग लगायतका ८ उद्योगमाथि लगाएको रोक्का अझै फुकुवा नगरिएको बताए।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यस्तै, अनुज एभरेष्ट इन्डस्ट्रिज र डेली ड्रिंकिङ्ग वाटर उद्योगको उत्पादन रोक्का गरिएको छ भने प्याकेजिङ्ग र लेबलिङ्ग जस्ता समस्या देखिएका अक्वा कर्णाली अमृत एण्ड वेभरेज इन्डस्ट्रिज, एनकेडीजे वेभरेज एण्ड प्याकिङ्ग इन्डस्ट्रिज, ब्लू बर्ड वाटर ट्रिटमेण्ट एण्ड सप्लायर्स र शिवशंकर वाटर एण्ड प्रोडक्शनलाई सुधार गर्न निर्देशन दिइएको छ। गुणस्तर परीक्षण बिना नै बजारमा बिक्रिवितरण गरिने बोतलको पानीले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले बोतलमा उल्लेखित लेबल, उत्पादन मिति, उपभोक गरिसक्नुपर्ने मिति हेरेर मात्र पानी पिउन कोइरालाको आग्रह छ।

कैलाली र कञ्चनपुरमा २४, डडेल्धुराममा १ र डोटीमा १ गरी हाल सुदूरपश्चिम प्रदेशमा २६ वटा प्रशोधित पानी उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा छन्। ती मध्ये कतिपयमा प्याकेजिङ्ग लगायतका प्राविधिक समस्या पाइएको छ भने कतिपयको पानी नै दूषित पाइएको हो।

दूषित पानीमा कुन ब्याक्टेरिया पाइयो भन्ने कुरा अधिकृत कोइरालाले बताउन अस्वीकार गरे। तर सामान्यतया दूषित पानीमा इकोली ब्याक्टेरिया पाइने गर्छ। इकोली ब्याक्टेरियाले मानिसलाई झाडापखाला र हैजाजस्ता रोग निम्त्याउने गर्छ। यसअधि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयको प्रयोगशालाले गरेको परीक्षणमा ह्याण्डपम्प र बोरिङ्गको पानीमा आइरन र आर्सेनिकको मात्रा बढी पाइएको थियो।

अशुद्ध र दूषित पानी पिउनाले मृगौला सम्बन्धी रोग र क्यान्सर जस्ता प्राण घातक रोग लाग्ने भएकाले उभोक्ता सचेत रहन जरूरी छ। साथै पानी शुद्धिकरणको उपाय अपनाएर मात्र पानी पिउन सुझाव दिइएको छ।

Loading...