कञ्चनपुरको बेलौरीमा सर्पले डस्दा एक महिलाको मृत्यु




कञ्चनपुर, ९ असार- कञ्चनपुरको बेलौरीमा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट बेलौरी नगरपालिका वडा नं. ५ रामनगर बस्ने २५ वर्षीय प्रमीला बोहराको मृत्यु भएको बताइएको छ ।



बुधबार दिउँसो नजिकैको सामुदायिक वनमा गएको बेला सर्पले डसेपछि अपराह्न उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।


उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रशासन प्रमुख गोविन्द बहादुर बिष्टले जानकारी दिए । एन्टी स्नेक भेनम औषधी समेत दिई उनको उपचारका लागि स्वास्थ्यकर्मीहरूले भरपुर प्रयास गरेपनि अवस्था जटिल भएकोले अन्यत्र पठाउने तयारी गर्दै गर्दा बोहराको ज्यान गएको बिष्टको भनाइ रहेको छ ।



