

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.५ गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले बिहिबार मुल गेटमा होर्डिङ बोर्ड राखेको हो ।





बोर्ड राख्नु अघि संघर्ष समिति लगायत स्थानियले अत्तरियादेखि गेटा सम्म बाजागाजा सहित र्याली निकालेका थिए । संघर्ष समितिले आफ्नोे कार्यक्रम अन्तर्गत बिहिबार गोदावरी नगर क्षेत्र बन्दको घोषणा गरेको थियो भने अत्तरिया बजार पनि बन्द गरिएको थियो । बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे खुलेको हो । बजार, संघसंस्था, कार्यालय लगायत बन्द रहेपनि यातायात भने सञ्चालनमा थिए ।


निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेको थियो । सोही अनुसार जेठ ५ गतेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो ।
बजेटमा प्रतिष्ठान बनाएर १ सय बेडको अस्पताल संचालन गर्ने भनिएपछि संघर्ष समितिले बिरोध स्वरुप शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको होर्डिङ बोर्ड राखेको हो ।
संघर्ष समितिले मन्त्रिपरिषदको निणर्य अनुसार गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापना गरेर ६ सय शैय्याको अस्पताल संचालन गर्नुपर्ने माग गर्दै आइरहेको छ भने समितिले बिभिन्न आन्दोलनका कार्यक्रम समेत गर्दै आइरहेको छ ।

