दसैं–तिहारका लागि नयाँ नोट साट्न पाइने
राष्ट्र बैंकले भन्यो– बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि सहजै सटही गर्न सकिने
यस वर्षको दसैं, तिहार र छठका लागि नागरिकले नयाँ नोट सहजै साट्न पाउने भएका छन्।




नेपाल राष्ट्र बैंकका अनुसार नयाँ नोट सटहीका लागि विगतमा जस्तो निश्चित मिति तोकिएको छैन। नागरिकले आफूलाई पायक पर्ने राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्।







राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार यस वर्ष नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले नागरिकलाई एक–दुई सेटसम्म नयाँ नोट सटही गर्ने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई वितरण गर्न राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन्।
राष्ट्र बैंकले वर्षभरि नै नयाँ तथा सुकिला नोट सटहीको सुविधा दिँदै आएको छ। दसैं–तिहारमा माग बढ्ने भएकाले विगतमा विशेष रूपमा नयाँ नोट वितरण गर्ने गरिएको भए पनि यस वर्ष छुट्टै मिति तोकिएको छैन।




