गेटा मेडिकल कलेजको फार्मेसीमै म्याद गुज्रिएको औषधि, सेवामाथि उठ्यो प्रश्न

लक्ष्मी भट्ट/अत्तरिया- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालनको तयारीमा रहेको गेटा मेडिकल कलेजको स्वास्थ्य सेवामाथि प्रश्न उठ्ने घटना सार्वजनिक भएको छ। अस्पतालको फार्मेसीबाटै म्याद गुज्रिएको औषधि बिक्री भएको सेवाग्राहीले गुनासो गरेका छन्।

गोदावरी नगरपालिका–४ का शिवराज भट्टले गेटा मेडिकल कलेजबाट औषधि खरिद गरेर घर लगेपछि उक्त औषधिको म्याद सकिएको थाहा भएको बताएका छन्। घर पुगेपछि उनका छोरा मनोजले औषधि जाँच गर्दा म्याद गुज्रिएको भेटिएको भट्टको भनाइ छ।

Navadurga sun

औषधि खरिद गर्दा म्याद सकिएको औषधि बिक्री भएको थाहा पाएपछि भट्टले अस्पतालका चिकित्सकसमक्ष समेत गुनासो गरेका थिए। चिकित्सकले औषधि खरिद गर्दा सेवाग्राहीले समेत म्याद जाँच गर्नुपर्ने बताएका थिए।

तर, स्वास्थ्य संस्थाको फार्मेसीबाटै म्याद गुज्रिएको औषधि सेवाग्राहीको हातमा पुग्नुले अस्पतालको औषधि व्यवस्थापन र फार्मेसी सेवाको अनुगमनमाथि गम्भीर प्रश्न उठाएको छ।

औषधिको म्याद जाँच गर्ने जिम्मेवारी सेवाग्राहीको मात्र नभई फार्मेसी तथा सम्बन्धित स्वास्थ्य संस्थाको पनि महत्वपूर्ण दायित्व हो। विशेषगरी औषधिको म्यादबारे जानकारी नहुने वा पढ्न नसक्ने सेवाग्राहीले फार्मेसीमा पूर्ण रूपमा विश्वास गर्ने भएकाले अस्पतालबाट औषधि वितरण गर्दा थप सावधानी आवश्यक देखिन्छ।

गेटा मेडिकल कलेजलाई आगामी दिनमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा विस्तार गर्ने तयारी भइरहेका बेला प्रारम्भिक चरणमै फार्मेसी सेवामा यस्तो कमजोरी देखिनुले सेवा व्यवस्थापनप्रति चासो बढाएको छ।

सेवाग्राहीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि वितरणमा सामान्य लापरबाहीले समेत गम्भीर परिणाम निम्त्याउन सक्ने भएकाले अस्पताल प्रशासनले घटनाबारे छानबिन गरी फार्मेसीमा रहेका सम्पूर्ण औषधिको म्याद जाँच गर्नुपर्ने आवश्यकता देखिएको छ।

म्याद गुज्रिएको औषधि कसरी फार्मेसीबाट बिक्री भयो र त्यस्तो औषधि अन्य सेवाग्राहीलाई समेत बिक्री भएको थियो कि थिएन भन्ने विषयमा अस्पताल प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...