काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो।


बैठकमा आगामी स्थानीय निर्वाचनको तयारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने रास्वपाले जनाएको छ। विशेषगरी केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौं’ अभियान र मधेस प्रदेश संगठनको अडिट रिपोर्टबारे पनि बैठकमा छलफल हुने बताइएको छ।
बैठकमा अन्य विविध विषयसमेत छलफलका लागि कार्यसूचीमा राखिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
