सुदूरपश्चिममा प्रदेश प्रमुख यादवले गरे पदभार ग्रहण




धनगढी, २४ बैशाख- सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो १ बजे पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिए । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध समेत जनाएका छन् ।


कोभिड १९ को कारण प्रदेशका मुख्यमन्त्री लगायतका अन्य पदाधिकारीसँग पछि भेटघाट गर्ने गरी कार्यालयका कर्मचारीले स्वागत गर्दै उनको पदभार ग्रहण गरिएको हो ।



