धनगढी- छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित बनगवाँ मण्डीमा भएको भीषण आगलागीका बेला उद्धार तथा राहतमा सहयोग गरेको भन्दै भारतीय व्यापारीहरूले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको प्रशंसा गरेका छन्।




विपद्का बेला मानवीय सेवालाई प्राथमिकता दिँदै धनगढी उपमहानगरपालिकाले दमकल, जेसीबी मेसिन र नगर प्रहरीको टोली पठाएर सहयोग गरेको भन्दै भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता रवि गुप्ता नेतृत्वको टोलीले नगरप्रमुख हमाललाई धन्यवाद दिएको हो।





गुप्ताले उपमहानगरपालिकाको कार्यालयमै पुगेर नगरप्रमुख हमाललाई धन्यवादपत्र हस्तान्तरण गरेका थिए। उनले भारत–नेपाल सीमाक्षेत्रका व्यापारी तथा नागरिकका तर्फबाट हमालप्रति कृतज्ञता व्यक्त गरेका हुन्। धन्यवादपत्र हस्तान्तरण कार्यक्रममा वरिष्ठ समाजसेवी तथा पूर्वसभासद् विवेक गुप्ता र यातायात व्यवसायी एवं समाजसेवी देवराज गर्गको समेत उपस्थिति थियो।


भारतको उत्तर प्रदेशस्थित पलिया क्षेत्रको बनगवाँ मण्डीमा दीपावलीका दिन भीषण आगलागी भएको थियो। आगलागी नियन्त्रण तथा उद्धारका लागि सहयोग आवश्यक भएपछि गुप्ताले नगरप्रमुख हमाललाई फोनमार्फत आग्रह गरेका थिए। त्यसलगत्तै धनगढी उपमहानगरपालिकाले आवश्यक उद्धार सामग्रीसहित दमकल, जेसीबी र नगर प्रहरीको टोली घटनास्थलमा पठाएको थियो।
गुप्ताका अनुसार आगलागीबाट ४० देखि ५० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनाबाट व्यवसायीहरूले करिब ३० देखि ४० करोड भारतीय रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ। नेपाली उद्धार टोली समयमै घटनास्थलमा पुगेर परिचालित भएकै कारण थप सयौँ पसललाई आगलागीबाट जोगाउन सफल भएको उनले बताए।
आगलागीपछि नेपालबाट प्राप्त सहयोगले सीमावर्ती क्षेत्रका नागरिकबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाएको गुप्ताको भनाइ थियो। विपद्का बेला राजनीतिक तथा भौगोलिक सीमाभन्दा मानवीय सेवा ठूलो हुने उल्लेख गर्दै उनले धनगढी उपमहानगरपालिका र नेपाली प्रशासनको भूमिकाको प्रशंसा गरे।
यसैबीच, गुप्ताले किनमेलका लागि भारत जाने नेपाली नागरिक तथा ग्राहकलाई अनावश्यक झन्झट नदिन नगरप्रमुख हमालमार्फत नेपाली प्रशासनसँग आग्रहसमेत गरेका छन्।




