नैनसिंह महरको भनाइ : जनतासँग टुटेको सम्बन्ध पुनः जोड्दै कांग्रेसलाई बलियो बनाउँछौँ

धनगढी- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले जनतासँग टुट्दै गएको पार्टीको सम्बन्धलाई पुनः विस्तार गर्दै संगठनलाई बलियो बनाउने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले कांग्रेस अहिले अत्यन्तै संकटपूर्ण अवस्थामा रहेको स्वीकार गर्दै जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउने अभियानमा पार्टी लागेको बताए ।

Navadurga sun

चुनाव नजिकिँदै गर्दा पार्टीभित्र केही असमझदारी र विभाजनजस्तो अवस्था देखिए पनि त्यसलाई अन्त्य गर्दै पार्टीलाई एकताबद्ध र सशक्त बनाउने उनको भनाइ थियो । पार्टीसँग नीति तथा कार्यक्रम भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम हासिल गर्न नसकिएको उल्लेख गर्दै उनले अब कांग्रेसलाई कार्यसम्पादनमा आधारित पार्टी बनाउनुपर्ने बताए ।

विगतमा केन्द्रबाट आएका निर्देशन स्थानीय तह, वडा र तल्लो तहसम्म कार्यान्वयन गर्ने अभ्यास रहेको स्मरण गर्दै महरले अब तल्लो तहका कार्यकर्ता तथा जनताको आवाज पार्टीको माथिल्लो नेतृत्वसम्म पुर्‍याउने अभ्यास सुरु गरिएको जानकारी दिए ।

यसैगरी, नेता महरले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे ।

विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार निर्माण, विधेयक पारित तथा पठनपाठनका लागि कोटा र बजेटसमेत व्यवस्था भइसकेको अवस्थामा सञ्चालनमा अवरोध हुनु दुःखद भएको उनले बताए ।

विश्वविद्यालय कुनै व्यक्ति वा समूहको रुचि र अरुचिको विषय नभई सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य तथा आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण आयोजना भएको उनको भनाइ थियो ।

विश्वविद्यालय सञ्चालनमा अवरोध पुर्‍याउने गतिविधिविरुद्ध सुदूरपश्चिमका जनता एकजुट हुनुपर्नेमा जोड दिँदै उनले सरकारलाई दबाब दिएर विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए ।

ADD Khali jpg
Loading...