नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार हुने खेल बेलुकी ५ बजे सुरु हुनेछ।




लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका दुवै टोलीको लक्ष्य पहिलो क्वालिफायर जितेर सिधै फाइनलमा स्थान सुरक्षित गर्नु रहेको छ। लुम्बिनी ११ अंकसहित पहिलो स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो।





पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ। त्यसैले दुवै टोलीका लागि यो खेल फाइनल यात्राको महत्त्वपूर्ण अवसर बनेको छ।
लुम्बिनीको उपाधि दाबेदारी बलियो
साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणमा पनि उपाधि दाबेदारीलाई बलियो बनाएको छ। प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको लुम्बिनीले चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि एक अंक बाँडेको थियो।
त्यसपछि पोखरा एभेन्जर्सलाई आठ विकेट र जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको लुम्बिनी काठमान्डु गोर्खाजसँग भने ३४ रनले पराजित भएको थियो। त्यसपछि उत्कृष्ट पुनरागमन गरेको टोलीले पोखरा एभेन्जर्सलाई आठ विकेट, कर्णाली याक्सलाई चार विकेट र विराटनगर किङ्सलाई पनि चार विकेटले हराउँदै लिग चरणको अन्त्य गर्यो।
लुम्बिनीका लागि विदेशी ब्याटर डार्सी सर्टले उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले ६ खेलमा १४८ रन बनाउँदै टोलीका लागि सर्वाधिक रन जोडेका छन्। बलिङतर्फ शेर मल्लले ६ खेलमा नौ विकेट लिँदै प्रभाव जमाएका छन्।
लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा गर्ने अभियानमा छ।
लगातार चार जितपछि सुदूरपश्चिमको मनोबल उच्च
सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको सुरुवात भने अपेक्षाअनुसार गर्न सकेन। पहिलो खेलमै लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको टोलीले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको थियो।
तेस्रो खेलमा विराटनगर किङ्ससँग पाँच ओभरमा सीमित खेलमा ३५ रनले पराजित भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो। तर त्यसपछि टोलीले उत्कृष्ट पुनरागमन गर्दै लगातार चार खेल जित्यो।
सुदूरपश्चिमले चितवन राइनोजलाई पाँच विकेट, कर्णाली याक्सलाई ३९ रन, जनकपुर बोल्ट्सलाई २७ रन र काठमान्डु गोर्खाजलाई सात रनले पराजित गरेको थियो।
टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सात खेलमा १५० रन बनाउँदै ब्याटिङमा नेतृत्व गरेका छन्। त्यस्तै, बलिङतर्फ अनिल खरेलले सात खेलमा १० विकेट लिएका छन्।


लगातार चार जितको लयमा रहेको सुदूरपश्चिम यसपटक फाइनलमा पुगेर पहिलो एनपीएल उपाधि जित्ने लक्ष्यमा छ।
चार भेटमा दुवै टोलीको बराबरी
एनपीएलका यसअघिका तीन संस्करणमा लुम्बिनी र सुदूरपश्चिमबीच चार खेल भएका छन्। तीमध्ये दुवै टोलीले समान दुई-दुई खेल जितेका छन्।
पहिलो संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो। दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिम सात विकेटले विजयी भएको थियो। तर फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो।
तेस्रो संस्करणको उद्घाटन खेलमा भने लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो।
यसरी पछिल्ला चार भेटमा दुवै टोलीको नतिजा बराबरी रहे पनि पछिल्ला दुई खेलमा लुम्बिनीले लगातार जित निकालेको छ। मंगलबारको खेलमा सुदूरपश्चिम अघिल्ला हारको बदला लिने योजनामा हुनेछ भने लुम्बिनी जितको शृङ्खला कायम राख्न चाहन्छ।
व्यक्तिगत प्रदर्शनमा सैफ जैब र शेर मल्ल महत्त्वपूर्ण
यी दुई टोलीबीचको हेड टु हेड प्रदर्शनमा सुदूरपश्चिमका सैफ जैब अगाडि छन्। उनले दुई इनिङ्समा १०३ रन बनाएका छन्। एकै खेलमा उनको उच्च स्कोर ९० रन रहेको छ।
लुम्बिनीका डार्सी सर्टले चार खेलमा ७२ रन बनाएका छन्। बलिङतर्फ लुम्बिनीका शेर मल्लले तीन इनिङ्समा ६ विकेट लिएका छन्। यी दुई टोलीबीचको खेलमा उनको उत्कृष्ट प्रदर्शन ११ रन दिएर तीन विकेट लिनु हो।
कसको पक्षमा जाला नतिजा ?
लिग चरणको प्रदर्शन र नेट रनरेटका आधारमा लुम्बिनी केही बलियो देखिएको छ। टोलीले सात खेलमध्ये पाँचमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। उसको नेट रनरेट १.२५६ रहेको छ। सुदूरपश्चिमको नेट रनरेट भने ०.१३५ छ।
तर पछिल्ला चार खेल लगातार जितेको सुदूरपश्चिमलाई कमजोर आँकलन गर्न सकिँदैन। कप्तान दीपेन्द्रसिंह ऐरीको ब्याटिङ र अनिल खरेलको बलिङ टोलीका प्रमुख हतियार हुन्।
अर्कोतर्फ लुम्बिनी डार्सी सर्टको ब्याटिङ र शेर मल्लको बलिङमा भर पर्नेछ। दुवै टोलीसँग उत्कृष्ट खेलाडी र फाइनल पुग्ने बलियो सम्भावना रहेकाले मंगलबारको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
लुम्बिनी उपाधि रक्षा गर्ने अभियानलाई निरन्तरता दिन चाहन्छ भने सुदूरपश्चिम यसपटक उपविजेतामै सीमित नहुने लक्ष्यसहित मैदान उत्रनेछ। त्यसैले पहिलो क्वालिफायरको नतिजाले एनपीएलको तेस्रो संस्करणको उपाधि यात्रालाई थप रोचक बनाउनेछ।




