डडेल्धुरा- सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठका रूपमा परिचित डडेल्धुरास्थित उग्रतारा भगवती मन्दिरमा मंसिर ८ गते परम्परागत देहीजाँत मेला लाग्ने भएको छ।




उग्रतारा क्षेत्र विकास समितिका अनुसार मंसिर ७ गते राति रतेडी र ८ गते दिउँसो मुख्य मेला अर्थात् दिउँसेडी सञ्चालन हुनेछ।





समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार परम्परागत धार्मिक विधि र संस्कृतिअनुसार देहीजाँत सञ्चालन गरिनेछ। जात्राका लागि अमरगढी नगरपालिकाका जिलोडा, खनमडा, दुमडा र छचोडालगायत चार गाउँबाट ध्वजा, शङ्ख, घण्टा, बिगुल, भोकर तथा चाँदी, पित्तल र सुनका आभूषणसहितका कलश र डोली बाजागाजाका साथ मन्दिरमा ल्याउने परम्परा रहेको छ।


दमाहा र नरसिंहाजस्ता परम्परागत बाजाको धुनसँगै देउरा मन्दिरमा पुर्याइन्छ। बिहान पूजाआजा सम्पन्न भएपछि देउताका धामीले काँप्दै भाकाबैजाली दिने परम्परा छ। भक्तजनले आफूले गरेको भाकलअनुसार विभिन्न पूजासामग्री, सुन तथा चाँदी चढाएर पूजा गर्ने गर्छन्।
मध्याह्न १२ बजे मन्दिरबाट गाँज निकालेर फाँटमा नचाउँदै चार ठाउँमा ढोग्ने परम्परा रहेको छ। त्यसपछि बेलुकी पूजा गरी चारवटै गाउँबाट ल्याइएका डोलीसहितका देउरा सम्बन्धित गाउँमा फर्काएर भ्रमणमा राखेपछि जात्रा सम्पन्न हुने गर्दछ।
देहीजाँतमा सुदूरपश्चिमका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन्। डडेल्धुरा सदरमुकाम बागबजारबाट करिब चार किलोमिटर टाढा रहेको उग्रतारा मन्दिरमा प्रत्येक वर्ष ठूलो संख्यामा भक्तजन दर्शन तथा पूजाआराधनाका लागि पुग्ने गर्छन्।
धार्मिक किंवदन्तीअनुसार करिब २ हजार ५ सय वर्षअघि अमरगढी नगरपालिकाको लटाउलीमा बसोबास गर्ने साँकी समुदायका स्थानीयले खेत जोत्ने क्रममा शिलामा हलोको फाली अड्किएको र उक्त स्थानबाट रगत बगेको थियो। त्यसपछि देवी उत्पन्न भई दर्शन दिएको जनविश्वास रहिआएको छ।
त्यसै समयदेखि उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपका रूपमा पूजा गर्दै आइएको धार्मिक मान्यता छ। उग्रतारा माताको दर्शन तथा पूजाआराधना गरेमा दैवीप्रकोपबाट रक्षा हुने, सुख प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।




