धनगढी- नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्।




मंसिर १५ गतेदेखि सुरु हुने दुईदिने प्रदेश अधिवेशन उद्घाटनका लागि पूर्वसभापति देउवा आफ्नो गृहप्रदेश सुदूरपश्चिम आउने भएका हुन्। प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति देउवाबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन्।







यसअघि सभापति बलायरले विज्ञप्ति जारी गर्दै कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जानकारी दिएका थिए। उनका अनुसार मंसिर १५ गते बिहान ११ बजे उद्घाटन समारोह सुरु हुनेछ।
विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उल्लेख गरिएको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ।




