धनगढी- दसैंको लामो सार्वजनिक बिदाका कारण सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरूले नियमित बहिरङ्ग (ओपीडी) सेवा बन्द गरेका छन्। यद्यपि, आकस्मिक उपचार, भर्ना भएका बिरामीको उपचार तथा अन्य अत्यावश्यक स्वास्थ्य सेवाहरू भने सञ्चालनमै रहेका छन्।




यस वर्ष दसैंमा शनिबार र आइतबारसहित नौ दिन सार्वजनिक बिदा दिइएको छ। सरकारले असोज ३१ गते फूलपातीदेखि सार्वजनिक बिदा दिएको हो। लामो बिदाका कारण नियमित स्वास्थ्य परीक्षण, चिकित्सकसँग परामर्श तथा फलोअपका लागि अस्पताल पुग्ने बिरामीले सेवा पुनः सञ्चालन नहुँदासम्म कुर्नुपर्ने भएको छ।







प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालले आकस्मिक उपचार, भर्ना भएका बिरामीको उपचार तथा प्रसूति सेवासहितका अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राखेको छ। यसका लागि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई आलोपालो ड्युटीमा खटाइएको छ।
अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार दसैं बिदामा आकस्मिक सेवा, सिटी स्क्यान, डायलासिस तथा प्रसूति सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्।
त्यस्तै, कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालले पनि दसैं बिदाका कारण ओपीडी सेवा बन्द गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीका अनुसार ओपीडी सेवा बन्द रहे पनि आकस्मिकलगायत २४ घण्टा उपलब्ध गराउनुपर्ने सेवाहरू सञ्चालनमै छन्।




