नवरात्रको आठौँ दिन महागौरीको पूजा, शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं- बडादशैं एवं नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ। यस अवसरमा देशभरका दशैंघर, पूजाकोठा तथा देवी मन्दिरमा विधिपूर्वक महागौरीको पूजा आराधना गर्ने परम्परा छ।

वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गरिन्छ। महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ।

Navadurga sun

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दशैंघर तथा पूजाकोठामा जौको जमरा राखिएको थियो। सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। त्यसपछि क्रमशः दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिएको थियो। सातौँ दिन फूलपाती भित्र्याउने परम्पराअनुसार दशैंघरमा फूलपाती भित्र्याइएको थियो।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।

नवरात्रको नवौँ दिन नवदुर्गामध्येकी अन्तिम देवी सिद्धिदात्रीको पूजा गरिन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्परा रहेको छ।

नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको चहलपहल बढेको छ। भक्तजनले देवीको दर्शन गरी सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने गरेका छन्।

नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व हर्षोल्लासका साथ मनाउने गर्छन्।

ADD Khali jpg
Loading...