मानाङ्क सहकारीको १५औँ साधारण सभा सम्पन्न

बचत निक्षेपमा १ करोड ६६ लाखभन्दा बढी वृद्धि, भोटेकोशी पीडितलाई ७० हजार सहयोग

लक्ष्मी भट्ट/अत्तरिया- मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेड अत्तरियाको १५औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। गोदावरी नगरपालिका–२, अत्तरियास्थित होटल नमस्ते पार्टी प्यालेसमा आयोजित साधारण सभामा संस्थाको आर्थिक अवस्था, प्रगति तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको हो।

साधारण सभाको प्रमुख अतिथि समाजसेवी प्रेमराज भण्डारी रहनुभएको थियो भने अध्यक्षता संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

Navadurga sun

संस्थाका प्रबन्धक प्रकाशकुमार जोशीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य बालकृष्ण भट्टराईले राख्नुभएको थियो।

साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल शेयर पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा रु. २ लाख १४ हजार ९०० ले कमी भई रु. २ करोड २७ लाख ७२ हजार ६०० पुगेको छ।

यस्तै, संस्थाको बचत निक्षेपमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा रु. १ करोड ६६ लाख ७४ हजार ४३४ ले वृद्धि भई कुल बचत निक्षेप रु. १४ करोड ३७ लाख १ हजार २३४ पुगेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कुल आम्दानी रु. २ करोड २६ लाख ७ हजार ७०९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा रु. १६ लाख ९० हजार ९७३ ले कमी भई रु. २ करोड ९ लाख १६ हजार ७३० पुगेको जनाइएको छ।

संस्थाको खर्चतर्फ आर्थिक वर्ष २०८०/८१ मा रु. १८ लाख ३१ हजार १७५ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा रु. ३ लाख ६ हजार ५४१ रहेको विवरण सभामा प्रस्तुत गरिएको थियो।

हाल मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा ७२५ जना शेयर सदस्य र १४ जना कर्मचारी रहेका छन्। संस्थाको कार्यक्षेत्र गोदावरी नगरपालिकाभित्र रहेको छ भने केन्द्रीय कार्यालय गोदावरी नगरपालिका–२, अत्तरियामा र सेवा केन्द्र गोदावरी नगरपालिका–५, गेटामा सञ्चालनमा रहेको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले सहकारी संस्था प्रचलित सहकारी ऐन, नियमावली तथा सहकारीका सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए। शेयर सदस्यहरूले पनि संस्थाका गतिविधिमाथि निगरानी राख्दै सुशासन, पारदर्शिता र सदस्य हितलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिएको थियो।

सदस्यहरूकै हित, उन्नति र प्रगतिका लागि स्थापना भएको मानाङ्क सहकारीले विभिन्न चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको जनाइएको छ।

सदस्यहरूमा बचत गर्ने बानीको विकास गर्ने, संकलित पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने तथा देशको आर्थिक तथा औद्योगिक विकासमा सहकारी क्षेत्रमार्फत योगदान पुर्‍याउने उद्देश्यले संस्था स्थापना भएको कार्यक्रममा जानकारी गराइएको थियो।

यसैबीच, मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूका लागि रु. ७० हजार सहयोग गरेको जानकारीसमेत साधारण सभामा गराइएको थियो।

साधारण सभाले संस्थाको आगामी कार्यदिशा, सदस्य सेवा विस्तार, वित्तीय अनुशासन तथा सदस्य हितलाई प्राथमिकतामा राख्दै सहकारीलाई थप व्यवस्थित र पारदर्शी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...