धनगढी- भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको सीमावर्ती वनगाउँ बजारमा आइतबार साँझ भएको भीषण आगलागी नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाले तीनवटा दमकलसहित नगर प्रहरी टोली परिचालन गरेको छ।




आइतबार साँझ करिब ६ः३० बजे आगलागी भएको सूचना प्राप्त हुनासाथ धनगढी उपमहानगरपालिकाको नगर प्रहरी तथा दमकल टोली तीनवटा दमकल र एउटा ब्याकलोडरसहित घटनास्थल पुगेको थियो।





आगलागी नियन्त्रणका क्रममा तीनवटै दमकलले तीन–तीन पटक पानी भरेर आगो निभाउने काम गरेका थिए। नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार ब्याकलोडर प्रयोग गरी फायर लाइन निर्माण गर्दै आगो थप फैलिन नदिन प्रयास गरिएको थियो।


लामो प्रयासपछि राति १२ः३० बजे आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको थियो। त्यसपछि दमकल टोली धनगढी उपमहानगरपालिकाको कार्यालय फर्किएको थियो।
यसैबीच, धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित एक वर्कसपमा पनि सोही राति आगलागी भएको थियो। तर वनगाउँ बजारमा आगो नियन्त्रणमा खटिएका धनगढीका दमकल भारतबाट फर्किने क्रममा सडकमा सवारीसाधनको जाममा परेपछि तत्काल राजपुर पुग्न सकेनन्।
दमकल टोली ढिला हुने अवस्था देखिएपछि नगर प्रहरीले वैकल्पिक व्यवस्था गर्दै फायर बाइकमार्फत फायर बल र जेट पम्पसहितको पानी ट्याङ्की घटनास्थल पुर्याएको थियो।
धनगढी विमानस्थल र गोदावरी नगरपालिकाका दमकलको सहयोगमा राजपुरस्थित वर्कसपमा लागेको आगो नियन्त्रणमा लिइएको जनाइएको छ।
सीमावर्ती बजारमा भएको आगलागी नियन्त्रणमा सहयोग पुर्याउनुका साथै आफ्नै नगरभित्रको अर्को घटनामा वैकल्पिक प्रविधि र अन्य निकायको सहयोग लिएर आगो नियन्त्रणमा लिनु धनगढी उपमहानगरपालिकाको विपद् व्यवस्थापन तयारीको उदाहरण बनेको छ।




