अछाम- अछाम र डोटी जिल्लाको सिमानामा पर्ने अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाडमा मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको १६ महिना बितिसक्दा पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।




पूर्वाधार विकास कार्यालय साँफेबगरले चौरपाटी गाउँपालिका–२ र दिपायल सिलगढी नगरपालिका–८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाइको मोटरेबल पुल निर्माणका लागि एसएसएनएस सीपीसीएस–एसी जेभी, धनगढी–५ कैलालीसँग सम्झौता गरेको थियो ।





पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त पुलका लागि २०८२ असार २२ गते सम्झौता भएको थियो । तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।
मोटरेबल पुल निर्माणका लागि डोजरमार्फत बाटो खन्ने क्रममा माथिबाट ठूलो ढुङ्गा खस्दा गण्डीगाडमा रहेको झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएको थियो । झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयवासी अहिले त्यही जीर्ण पुलबाट जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।


निर्माण कार्य अघि बढाउन पूर्वाधार विकास कार्यालयलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा पनि आयोजना कार्यान्वयन गर्ने निकायले चासो नदिएको उनको आरोप छ ।
पुल निर्माण नहुँदा स्थानीयवासीले दैनिक सास्ती खेप्नुपरेको छ । बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन समस्या हुने गरेको स्थानीय ध्रुव साउँदले बताए । त्यस्तै, अछामबाट डोटीको दिपायल तथा सिलगढीमा अध्ययन गर्न जाने विद्यार्थीसमेत यही जीर्ण झोलुङ्गे पुल प्रयोग गर्न बाध्य छन् ।
‘मोटरेबल पुल त परै जाओस्, झोलुङ्गे पुलको अवस्था पनि ठीक छैन,’ स्थानीय साउँदले भने ।
यता, पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले पुल निर्माणमा संलग्न कम्पनीलाई निर्माण कार्य अघि बढाउन पत्राचार गरिसकेको जानकारी दिए ।
सम्झौता भएको लामो समयसम्म पनि निर्माण प्रक्रिया अघि नबढ्दा स्थानीयवासीमा निराशा बढेको छ । सम्बन्धित निकायले तत्काल पहल गरी मोटरेबल पुल निर्माण अघि बढाउन र जीर्ण झोलुङ्गे पुलको अवस्थाबारे आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ।




