धनगढी- कुकुर तिहारको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीस्थित केनाइन शाखामा रहेका तालिमप्राप्त कुकुरहरूको विशेष पूजा गरिएको छ।




कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुर तिहारका अवसरमा आइतबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले तालिमप्राप्त कुकुरहरूलाई माला तथा टीका लगाई पूजा गर्दै प्रसाद प्रदान गरेका हुन्।







कार्यक्रममा डीआईजी भट्टराईले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न तथा अन्य प्रहरी कार्यमा तालिमप्राप्त कुकुरहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। प्रहरी कार्यमा उनीहरूको योगदान अमूल्य रहेको उल्लेख गर्दै उनले कुकुरहरूको कार्यकुशलता, समर्पण र योगदानको प्रशंसा गरे।
नेपाल प्रहरीको केनाइन शाखामा रहेका तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, लागुऔषध तथा विस्फोटक पदार्थ पहिचानलगायत विभिन्न प्रहरी कारबाहीमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन्। कुकुर तिहारका अवसरमा उनीहरूको योगदानको सम्मान र कृतज्ञता व्यक्त गर्दै पूजा गर्ने परम्परा रहिआएको छ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशकी अध्यक्ष मुना भट्टराई, वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।




