काठमाडौं- पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।




मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ।







महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, सोमबार राति देशका हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै, राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा हुने परिवर्तनलाई मध्यनजर गर्दै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।




