काठमाडौँ- स्वास्थ्यका लागि दैनिक पर्याप्त पानी पिउनु अत्यावश्यक मानिन्छ। तर, बिहान खाली पेटमा कुन भाँडामा राखिएको पानी पिउने भन्ने कुराले पनि हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ। आयुर्वेदका अनुसार बिहान खाली पेटमा पित्तलको भाँडामा राखिएको पानी पिउनाले पाचन प्रक्रिया सुधार हुनुका साथै शरीरको मेटाबोलिज्म चुस्त बनाउन मद्दत पुग्छ।
अहिलेको व्यस्त जीवनशैलीमा मानिसहरू स्वस्थ रहन महँगा सप्लिमेन्ट प्रयोग गर्छन्। तर, पुराना पुस्ताले भान्सामा पाइने तामा, पित्तल र माटोका भाँडा प्रयोग गर्न दिने सल्लाह स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ। तामा र जिंकको मिश्रधातुबाट बन्ने पित्तलको भाँडामा राखिएको पानीका मुख्य स्वास्थ्य लाभहरू निम्न अनुसार छन्:

-
पाचन प्रणालीमा सुधार: यसले पेटको जलन शान्त पार्नुका साथै ग्यास र अपचजस्ता समस्या कम गर्न मद्दत गर्छ।
-
रोग प्रतिरोधात्मक क्षमता वृद्धि: पित्तलमा हुने तामा र जिंकजस्ता धातु पानीमा मिसिने भएकाले यसले शरीरको आन्तरिक सफाई गरी रोगसँग लड्ने क्षमता बढाउँछ।
-
छालामा निखार: आन्तरिक स्वास्थ्य सुधार हुँदा त्यसको सकारात्मक असर छालामा देखिन्छ, जसले अनुहारमा चमक ल्याउन र डन्डीफोर कम गर्न सहयोग गर्छ।
-
तौल नियन्त्रणमा सहयोग: मेटाबोलिज्म प्रक्रियालाई सही राख्न मद्दत गर्ने भएकाले यसले शरीरमा अनावश्क बोसो जम्न दिँदैन। यद्यपि, तौल घटाउन सन्तुलित आहार र शारीरिक व्यायाम पनि उत्तिकै आवश्यक हुन्छ।
-
ऊर्जा र पोषक तत्त्वको सन्तुलन: यसले शरीरमा आवश्यक पोषक तत्त्वको सन्तुलन मिलाई सुस्ती र कमजोरी हटाउन मद्दत गर्छ।
प्रयोग गर्ने सही तरिका राति पित्तलको सफा गिलास वा जगमा खानेपानी भरेर राख्ने र बिहान उठ्ने बित्तिकै खाली पेटमा बिस्तारै पिउने गर्नुपर्छ। सुरुमा यसको स्वाद फरक लागे पनि बिस्तारै बानी पर्दै जान्छ।
(विशेष सावधानी: पित्तलको भाँडो सधैँ सफा हुनुपर्छ र यसमा अमिलो पदार्थ कहिल्यै राख्नु हुँदैन।) -एजेन्सी
