दार्चुलाको अपिहिमालमा पहिरो, चौलानी नदी थुनिन सक्ने जोखिम
पहिरोका कारण नदीको बहाव प्रभावित, तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह
दार्चुला- दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो गएको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन। घटनास्थलतर्फ प्रहरी टोली पठाइसकिएको उनले जानकारी दिए।

‘पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन, प्रहरी त्यसतर्फ गइसकेको छ,’ प्रजिअ पौडेलले भने।
पहिरोका कारण नदीको केही भाग पुरिएको र पहिरो आउने क्रमसमेत जारी रहेकाले चौलानी नदी थुनिन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ।
नदी थुनिएमा पानी जम्मा भएर एक्कासि फुट्न सक्ने तथा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा रहेका बस्तीका नागरिकलाई सुरक्षित रहन, नदीको बहावमा आएको परिवर्तनलाई निगरानी गर्न तथा जोखिमको अवस्था देखिएमा सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
पहिरोको वास्तविक अवस्था तथा सम्भावित क्षतिको विवरण प्रहरी टोलीको स्थलगत निरीक्षणपछि मात्रै स्पष्ट हुने प्रशासनले जनाएको छ।
