शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षक पदको अन्तर्वार्ता तालिका सार्वजनिक

अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा कैलालीले करार सेवामा शिक्षक पदका लागि आवेदन दिएका योग्य उम्मेदवारहरूको अन्तर्वार्ता तालिका सार्वजनिक गरेको छ।

विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित गरेको विज्ञापनका आधारमा प्राप्त आवेदनमध्ये योग्यता पुगेका उप–प्राध्यापक पदका उम्मेदवारहरूको अन्तर्वार्ता साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन गर्ने जनाएको छ। अन्तर्वार्ता विषय तथा पदको वर्णानुक्रमअनुसार सञ्चालन हुनेछ।

Navadurga sun

अन्तर्वार्तामा शरीर रचनाशास्त्र, निश्चेतनाशास्त्र, जैवरसायनशास्त्र, सामुदायिक चिकित्सा, दन्त शल्यचिकित्सा, नाक–कान–घाँटी, सामान्य चिकित्सा, सामान्य शल्यचिकित्सा, आन्तरिक चिकित्सा, चिकित्सा शिक्षा, सूक्ष्मजीव विज्ञान, नर्सिङ, प्रसूति तथा स्त्रीरोग, नेत्ररोग, हाडजोर्नी तथा शल्यचिकित्सा, बालरोग, रोगविज्ञान, शरीरक्रियाशास्त्र, मनोरोग, चर्मरोग र विकिरण चिकित्सा विषयका उम्मेदवार सहभागी हुनेछन्।

प्रत्येक उम्मेदवारका लागि १५ मिनेटको अन्तर्वार्ता समय निर्धारण गरिएको छ। उम्मेदवारले तोकिएको समयभन्दा १० मिनेट अगावै विश्वविद्यालयले उपलब्ध गराएको विद्युतीय सम्पर्कसूत्रमा जोडिनुपर्नेछ। अन्तर्वार्ताको विद्युतीय सम्पर्कसूत्र प्रत्येक उम्मेदवारलाई एक दिनअघि विद्युतीय पत्रमार्फत उपलब्ध गराइने विश्वविद्यालयले जनाएको छ।

प्राविधिक कारणले समस्या आएमा अन्तर्वार्ताको समयमा सामान्य हेरफेर हुन सक्ने विश्वविद्यालयले स्पष्ट पारेको छ। अन्तर्वार्तासम्बन्धी थप जानकारी विश्वविद्यालयको आधिकारिक जालपृष्ठ वा केन्द्रीय प्रशासन कार्यालयबाट लिन सकिनेछ। साथै, प्राविधिक त्रुटिका कारण विवरण फरक परेमा आवश्यक सच्याउने अधिकार विश्वविद्यालयसँग सुरक्षित रहेको सूचनामा उल्लेख छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...