अत्तरिया- “बहुक्षेत्रीय समन्वयमार्फत नगर स्वास्थ्य सुशासन सुदृढीकरण” विषयक नीतिगत संवाद कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। नेपाल नगरपालिका संघ, जर्मन विकास सहयोग संस्था र म्युनिसिपल एसोसिएसन अफ नेपालको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय तहको स्वास्थ्य सेवा प्रभावकारी, गुणस्तरीय, समावेशी र नागरिकमैत्री बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।
नेपाल नगरपालिका संघका प्रदेश सभापति तथा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय तहबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाको अवस्था, प्रभावकारिता र सुधारका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले बाजुरा, अछाम र बझाङलगायत पहाडी जिल्लामा प्रसूतिको समयमा समयमै उपचार नपाउँदा तथा पोषणको अभावका कारण महिलाले ज्यान गुमाउनुपरेका घटनाप्रति चिन्ता व्यक्त गर्दै मातृ स्वास्थ्य सुधार र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए।
प्रदेश सचिव बैकुण्ठ अर्यालले दक्ष जनशक्तिको अभाव, तीन तहका सरकारबीचको कमजोर समन्वय तथा व्यवस्थापकीय चुनौतीका कारण स्वास्थ्य सेवा अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताए। उनले नयाँ स्वास्थ्य संस्था थप्नुभन्दा रोगको रोकथाम, स्वास्थ्य सचेतना र निरोगी जीवनशैली प्रवद्र्धनमा जोड दिनुपर्ने बताए।
नगरप्रमुख बिरेन्द्र भट्टले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले स्थानीय सरकारले स्वास्थ्य सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए। कार्यक्रममा स्वास्थ्य सुशासन, तथ्यांकमा आधारित योजना निर्माण, नागरिक सहभागिता, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्रभावकारी बनाउँदै दिगो स्वास्थ्य सेवा प्रवाहका लागि यस्ता नीति संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
