अत्तरिया- कैलालीको अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य संघले सुनसरीको देवानगञ्ज लगायत पूर्वी जिल्लाहरूमा हालै भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत संघले सरकार र स्थानीय प्रशासनलाई घटनाको तत्काल समाधान गरी पीडितलाई न्याय दिलाउन माग गरेको छ।
संघले भविष्यमा यस्ता घटना दोहोरिन नदिन, उद्योग–व्यवसाय तथा निजी र सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। साथै सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी संवादलाई प्राथमिकता दिँदै जिम्मेवार सहकार्यमार्फत शान्तिपूर्ण समाधान खोज्न अपिल गरेको छ।

संघका अध्यक्ष कमल कडायतद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
