साउन १५ मा खिर खाने चलन : स्वास्थ्य र संस्कृतिसँग जोडिएको परम्परा

आज साउन १५ गते नेपाली समाजमा परम्परागत रूपमा खिर खाएर मनाइने विशेष दिन हो। वर्षा ऋतुमा असार १५ गते दही–च्युरा खाने र साउन १५ गते खिर खाने चलन लामो समयदेखि रहँदै आएको छ।

साउने झरीका बेला तातो खिर खानु स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले यो परम्परा विकास भएको विश्वास गरिन्छ। दूध, चामल, चिनी तथा मरमसलाबाट तयार गरिने खिर स्वादिष्ट मात्र नभई पौष्टिक पनि हुन्छ।

Navadurga sun

राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ फागुन १५ गतेको निर्णयअनुसार साउन १५ लाई ‘खिर खाने दिन’ (खिर दिवस) का रूपमा मनाउने घोषणा गरेको थियो। दूधमा प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम, ल्याक्टोज र आवश्यक पोषक तत्त्व पाइने भएकाले खिरले शरीरलाई ऊर्जा र पोषण प्रदान गर्छ। संस्कृतमा ‘पायस’ भनिने खिर सात्त्विक आहारमध्ये उत्कृष्ट मानिन्छ र वैदिक परम्परामा देवकार्य तथा पितृकार्यमा पनि यसको विशेष महत्त्व रहेको उल्लेख गरिएको छ।

साउन महिनासम्म खेतीपातीको मुख्य काम सकिने, गाउँघरमा हरियाली बढ्ने र गाई–भैंसीले प्रशस्त दूध दिने भएकाले यस समयमा इष्टमित्र, आफन्त र छोरी–चेलीलाई घरमा बोलाएर खिर खुवाउने सुन्दर परम्परा बसेको हो।

नेपाली समाजमा असार १५ मा दही–च्युरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा खाने परम्पराले हाम्रो संस्कृति, आत्मीयता र सामाजिक एकतालाई अझ बलियो बनाउँदै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...