बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–१ कलौनस्थित जगदम्बा आधारभूत विद्यालयका छात्राहरूमा पछिल्ला चार दिनदेखि एक्कासी बेहोस हुने र बर्बराउने समस्या देखिएको छ। सुरुमा एक छात्रामा देखिएको समस्या क्रमशः अन्य छात्राहरूमा पनि फैलिएको विद्यालयले जनाएको छ।


विद्यालयका शिक्षक अम्बादत्त बडूका अनुसार कक्षा ८ सम्म सञ्चालन हुने उक्त विद्यालयका विशेषगरी कक्षा ५ र ६ मा अध्ययनरत छात्राहरू बढी प्रभावित भएका छन्। घटनापछि विद्यालयको नियमित पठनपाठनसमेत प्रभावित भएको छ।

समस्या देखिएपछि दशरथचन्द नगरपालिकाका मनोपरामर्शदाता र गुरुखोला स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी विद्यालयमा पुगेर प्रभावित छात्राहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै मनोसामाजिक परामर्श प्रदान गरेका छन्। स्वास्थ्यकर्मीहरूले प्रारम्भिक रूपमा यो समस्या ‘मास हिस्टेरिया’ हुन सक्ने अनुमान गरेका छन् भने आवश्यक निगरानी र परामर्श जारी राखिएको छ।
