लालपुर्जा हुँदाहुँदै आफ्नै जग्गामा जान पाएनन् किसान, सीडीओलाई ज्ञापनपत्र

धनगढी- लालपुर्जा हुँदाहुँदै पनि आफ्नै जग्गा उपभोग गर्न नपाएको भन्दै क्रान्तिकारी किसान महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सुदूरपश्चिम प्रदेश २ नम्बर ब्युरो इन्चार्ज तथा पोलिटब्युरो सदस्य लालबहादुर जाग्रीको नेतृत्वमा गएको टोलीले बिहीबार सीडीओ रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो ।

Navadurga sun

महासंघका अनुसार धनगढी उपमहानगरपालिका–१३, साविक गेटा गाविस–७ स्थित श्रीलंका गाउँका करिब ५० परिवारले तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगबाट आर्थिक वर्ष २०५१/०५२ मा जग्गा प्राप्त गरी जग्गाधनी प्रमाणपत्र पाएका थिए।

तर २०६१ साल तथा २०६४ साल असोजमा मोहना नदीमा आएको बाढीले बस्ती र खेतीयोग्य जमिन बगरमा परिणत गरेपछि उनीहरू विस्थापित भएका थिए । हाल नदीको बहाव अन्यत्र मोडिएपछि आफ्नै जग्गा उपभोग गर्न खोज्दा केही व्यक्तिले अवरोध तथा धम्की दिने गरेको महासंघको आरोप छ ।

विस्थापित भएको समयमा स्थानीय केही व्यक्तिले ती जग्गामा वृक्षारोपण गरी वनको स्वरूप दिएको र अहिले लालपुर्जा हुँदाहुँदै पनि वास्तविक जग्गाधनी किसानलाई जग्गा उपभोग गर्न नदिइएको महासंघका प्रदेश संयोजक टंकप्रसाद कोइरालाले बताए ।

महासंघले पीडित किसानलाई आफ्नै जग्गा उपभोग गर्न दिने वातावरण बनाउन तथा आवश्यक परे सोही क्षेत्रमा पुनः बसोबासको व्यवस्था मिलाउन प्रशासनसँग माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले नागरिकको बसोबास सुनिश्चित गर्ने पहिलो दायित्व स्थानीय तहको भएकाले सम्बन्धित स्थानीय तहसँग समेत समन्वय गर्न आग्रह गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...