अत्तरिया- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका १५० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार बाढीपछि प्रदेशभरबाट २०९ जना सम्पर्कविहीन भएको विवरण आएको थियो। तीमध्ये ५९ जना सम्पर्कमा आएका छन् भने १५० जनाको अवस्था अझै अज्ञात छ।

बेपत्ता आफन्तको खोजीका लागि परिवारहरू प्रहरी, प्रशासन तथा स्थानीय तहसँग समन्वय गरिरहेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सम्पर्कविहीन पाँच जनाका परिवारका सदस्यलाई चितवन र काठमाडौं पठाएको छ।
त्यस्तै, कैलालीको जोशीपुर गाउँपालिकाले पनि परिवारका सदस्यसहित नौ जनाको टोली खोजी तथा पहिचानका लागि चितवन र काठमाडौं पठाएको जनाएको छ। भजनी नगरपालिकालगायत अन्य स्थानीय तहसमेत खोजी तथा समन्वयमा जुटेका छन्।
सुदूरपश्चिम प्रदेश सरकार भने आवश्यक प्राविधिक जनशक्ति र उपकरणको अभावमा संघीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
यसैबीच, प्रदेश सरकारले रसुवा बाढीपीडितका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। तर बेपत्ता नागरिकको खोजीमा प्रदेश सरकारको प्रत्यक्ष भूमिका भने कमजोर देखिएको छ।
