पहिरोले पाइप बगाउँदा बैतडी सदरमुकाम क्षेत्रमा खानेपानीकाे अभाव

बैतडी, ८ कार्तिक- बेमाैसमी वर्षापछि आएको पहिरोले पाइप बगाउँदा बैतडी सदरमुकाम क्षेत्रमा खानेपानीकाे अभाव भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्।

सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि १ हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्। सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोला मुहानमा पहिरो र पाइपमा वर्षाले क्षति पुर्‍याएपछि खानेपानीको समस्या भएको हो। एक हप्तादेखि सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीय प्रकाश चन्दले बताए। खानेपानीको समस्या भएको हप्ता दिन भइसक्दा समेत कुनै सुनुवाइ हुन सकेकाे छैन। उनले भने, ‘सदरमुकाममा आउने पानी बन्द हुँदा टाढाबाट बोकेर ल्याउनुपर्छ, एक गाग्री पानीका लागि दिनभर बिताउनु पर्ने बाध्यता छ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

खानेपानी अवरुद्ध हुँदा सदरमुकामका होटल व्यवसायीहरुलाई समेत समस्या भएको छ। व्यवसायी अम्बादत्त भट्टका अनुसार खानेपानी नै नहुँदा व्यापार व्यवशाय गर्न निकै सकस भएको छ। पानीको अभावमा शौचालय समेत प्रयोग गर्न मुस्किल भएको स्थानीयबासीले बताएका छन्।

यता, बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले भने खानेपानी सञ्चालन गर्न अझै एक दुई दिन लाग्ने बताए। मुहानमा ठुलो पहिरो गएको छ , ठाउँठाउँमा पाइपहरु भाच्चिँएका छन्। उनले भने,‘वर्षाले व्यापक क्षति पुगाएको छ, हामी सुचारु गर्न लागिरहेका छौं , एकदुई दिनमै सञ्चालन हुन्छ होला।

गत असोज ३१ गते रातिदेखि लगातार रुपमा ३ दिनसम्म परेको अविरल वर्षाले जिल्लामा ४ जनाको ज्यान लिएको छ भने करौडौंको धनमालको क्षति पुगाएको छ।

Loading...