


धनगढी- सुदूरपश्चिम प्रदेशमा बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर चरणमा पुगेको छ । स्वास्थ्य निर्देशनालयको अध्ययनअनुसार हरेक चार बालबालिका मध्ये एकजनामा उचाइ कम (पुड्कोपन) र हरेक छमध्ये एक जनामा तौल कम (ख्याउटेपन) देखिएको छ । ६–५९ महिनाका बालबालिकामा कुपोषणको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।



अध्ययनले देखाएको छ कि ३१ प्रतिशत बालबालिकाले तरकारी वा फलफूल खाँदैनन्, ६ महिनाभन्दा अगाडि आमाको दूधबाहेक अन्य दूध खुवाइन्छ र १० मध्ये चार बालबालिकाले जंक फुड सेवन गर्छन्। यसले बाल मृत्युदर पनि उच्च बनाएको छ । राष्ट्रिय औसत ३१ रहेको पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिममा ४८ पुगेको छ ।


प्रदेशमा स्वास्थ्य पूर्वाधार कमजोर छ । ८८ स्थानीय तहमध्ये ३३ मा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । अधिकांश अस्पताल १५ शय्याका मात्र छन् र विशेषज्ञ सेवा सीमित छ । दुर्गम जिल्लाका बिरामी उपचारका लागि धनगढी वा भारत लैजान बाध्य छन् । डडेलधुरा अस्पताल जनशक्ति अभावले प्रभावित छ भने गेटामा स्थापित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा सुरु हुन सकेको छैन ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बजेट, जनशक्ति र तीन तहका सरकारबीच समन्वयको कमी स्वास्थ्य सुधारमा बाधक बनेको छ ।





