डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणका लागि योगको असाधारण भूमिका रहेको बताएका छन् ।
बुधबार पतञ्जली योग समिति डडेल्धुराले अमरगढीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले आफूले योगको महत्व र यसको प्रभावलाई नजिकबाट बुझेको बताए ।

उनले योगलाई केवल शारीरिक व्यायामका रूपमा नभई स्वस्थ जीवनशैली तथा सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री भट्टले योगलाई प्रदेशका नागरिकको दैनिक जीवनसँग जोड्दै ‘सबैका लागि योग’ अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । प्रदेश सरकारले योग तथा प्राकृतिक स्वास्थ्यसँग सम्बन्धित गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउँदै प्रदेशभर यसको पहुँच विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्ने उनले प्रतिबद्धता जनाए ।
योगले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले विद्यालय, समुदाय तथा सार्वजनिक संस्थाहरूमा समेत योग अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
उनले स्वस्थ नागरिक निर्माणका लागि योगलाई जीवनशैलीकै अभिन्न अंग बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
