अत्तरिया- गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायतका जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कैलालीको अत्तरियास्थित होलील्यान्ड एकेडेमी सेकेन्डरी स्कुलले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।
बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

विद्यालयका अध्यक्ष मानबहादुर चन्द र प्रधानाध्यापक मदनराज रेग्मीले जारी गरेको विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
विज्ञप्तिमा विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फसेका नागरिकको सुरक्षित उद्धार तथा प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।
विद्यालयले विपद् कुनै व्यक्ति वा समुदायको मात्र समस्या नभई सबैको साझा चुनौती भएको उल्लेख गर्दै मानवीय सेवामा हातेमालो गर्न व्यक्ति, संघ–संस्था तथा समुदायलाई आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत अपिल गरेको छ।
