त्रिशूलीको सुरुङबाट भागेर बाँचे कैलालीका १३ कामदार
सन्तोष भन्छन्– ‘केही क्षण ढिला भएको भए अवस्था अर्कै हुन सक्थ्यो’
कैलाली- त्रिशूलीको थ्री–ए जलविद्युत आयोजनाको सुरुङमा आएको बाढीबाट कैलालीका १३ जना कामदार ज्यान जोगाएर घर फर्किएका छन्।
भदौ १० गते बिहान आयोजनाको सुरुङभित्र सरिया मिलाउने काम गरिरहेका भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरीसहितका कामदारले अचानक बाढी आउँदै गरेको खबर पाएपछि सुरुङबाट बाहिर निस्किएर अग्लो स्थानतर्फ भागेर ज्यान जोगाएका हुन्।

सन्तोषका अनुसार सुरुङभित्र ठूलो सङ्ख्यामा कामदार काम गरिरहेका थिए। बाहिर रहेका एक चिनियाँ नागरिकले माथिबाट ठूलो बाढी आउँदै गरेको सूचना दिएपछि उनीहरू तत्काल सुरुङबाट बाहिरिएका थिए। करिब ४० जनाजति कामदार पहाडको अग्लो भागतर्फ पुगेका थिए।
‘अझै नदी बढ्छ, माथि–माथि चढ’ भन्दै चिनियाँ नागरिकले आफूहरूलाई सुरक्षित स्थानतर्फ जान सचेत गराएको सन्तोषले बताए।
बाढी केही शान्त भएपछि उनीहरू डेरामा फर्किए। उनीहरू बसेको कोठामा ठूलो क्षति नभए पनि आसपासका बैंक, कम्पनीका कार्यालय तथा धेरै घर बाढीले बगाएको थियो। मोबाइल नेटवर्क नहुँदा उनीहरूले तत्काल परिवारसँग सम्पर्कसमेत गर्न सकेनन्।
भदौ ११ गते उद्धारको आशामा उनीहरू अग्लो डाँडामा पुगे पनि हेलिकप्टर आएन। पछि नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरी सेनाको क्याम्पमा लगेको थियो।
भदौ १२ गते राति क्याम्पमा खाना तथा बस्ने व्यवस्था गरिएको थियो। भदौ १३ गते सेनाले बसमार्फत उनीहरूलाई काठमाडौं पठाएको थियो। काठमाडौंमा भदौ १४ गते घर फर्किन प्रत्येकलाई पाँच हजार रुपैयाँ यातायात खर्च दिइएको थियो।
भदौ १५ गते सोमबार सन्तोषसहित भजनीका पाँच जनाको टोली घर पुगेको हो। गाउँ फर्किएपछि आफन्त तथा गाउँलेमा खुसी छाएको सन्तोषले बताए।
‘हामी बाँच्न सफल भयौँ । नयाँ जीवन लिएर घर फर्किएका छौँ,’ उनले भने।
कैलालीको भजनी, टीकापुर र जानकी क्षेत्रबाट आयोजनामा काम गर्न गएका १३ जना सकुशल फर्किएका छन्। उनीहरूमा सन्तोष चौधरीसहित सरोजकुमार चौधरी, लक्ष्मण डगौरा, आकाश डगौरा, सुधराम थारु, रामस्वरूप चौधरी, बालकृष्ण चौधरी, प्रेमबहादुर डगौरा, छुनुकराम डगौरा लगायत रहेका छन्।
उनीहरूसँगै काम गर्ने धेरै जना अझै सम्पर्कविहीन रहेको सन्तोषले बताएका छन्।
‘केही क्षण ढिला भएको भए अवस्था अर्कै हुन सक्थ्यो,’ सन्तोषसँगै घर फर्किएका आकाश डगौराले भने।
यस घटनापछि सुदूरपश्चिमका १ सय ४० भन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ। प्रहरीका अनुसार आइतबारसम्म ३६ जना सम्पर्कमा आएका छन्। तीमध्ये कैलाली र कञ्चनपुरका ३५ जना तथा डडेल्धुराका एक जना रहेका छन्।
