स्वास्थ्य र मित्रताको सन्देशसहित अत्तरियामा म्याराथुन प्रतियोगिता हुने

अत्तरिया- अत्तरियामा म्याराथुन प्रतियोगिता आयोजना हुने भएको छ। दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा गठित पूर्व विद्यार्थी मञ्चको आयोजनामा यही फागुन ७ गते म्याराथुन प्रतियोगिता हुन लागेको हो।

‘दुर्गालक्ष्मी दौडिन्छ’ शीर्षक दिइएको उक्त प्रतियोगिताबारे आयोजक दुर्गालक्ष्मी पूर्व विद्यार्थी मञ्चले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

Navadurga sun

प्रतियोगिताका संयोजक तथा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रेमराज भट्टका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार ५५५ रुपैयाँ, द्वितीय पुरस्कार १५ हजार ५५५ रुपैयाँ र तृतीय पुरस्कार ५ हजार ५५५ रुपैयाँ रहेको छ।

त्यसैगरी, महिला सहभागीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई पनि नगद ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए।

प्रतियोगितामा दुर्गालक्ष्मी नमुना माविमा अध्यापन गरिसकेका पूर्व विद्यार्थीहरू मात्र सहभागी हुन पाउने छन्। महिला सहभागीहरूको संख्या कम हुने भएकाले महिला र पुरुष धावकलाई एउटै समूहमा दौडाउन लागिएको आयोजकले जनाएको छ।

पूर्व विद्यार्थीहरूलाई विद्यालयसँग जोडिराख्ने उद्देश्यले मञ्चको स्थापना गरिएको बताउँदै भट्टले मञ्चमार्फत विद्यालयलाई देशकै नमुना बनाउने लक्ष्यसहित हरेक वर्ष विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरिने जानकारी दिए। उनले म्याराथुन प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना रहेको बताए।

म्याराथुन प्रतियोगिता दुर्गालक्ष्मी नमुना माविको परिसरबाट सुरु भई गोदावरी पुलमा पुगेर समापन हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि गोदावरी धाममा पूर्व विद्यार्थीहरूका लागि पिकनिक कार्यक्रम समेत आयोजना गरिनेछ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुन लागेको यस वर्षको म्याराथुनको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...