


कैलाली- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका १,१७६ मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन श्रेणीमा विभाजन गरिएको हो।


प्रदेशका नौ जिल्लामा फैलिएका १६ निर्वाचन क्षेत्रअन्तर्गत ३०० मतदानस्थल सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मानिएका छन्। प्रदेशमा कुल २,१९९ मतदान केन्द्र रहेका छन्। तराईका कैलालीमा पाँच र कञ्चनपुरमा तीन गरी आठ निर्वाचन क्षेत्र छन् भने बाँकी आठ निर्वाचन क्षेत्र सात पहाडी जिल्लामा रहेका छन्। अछाममा दुई निर्वाचन क्षेत्र रहेका छन् भने अन्य छ पहाडी जिल्लामा एक–एक निर्वाचन क्षेत्र छन्।



प्रदेशभर सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कैलाली जिल्लामा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यहाँका १०८ मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्। त्यसैगरी कञ्चनपुरका १३२ मतदानस्थलमध्ये ६६ र बाजुराका ७७ मध्ये ६२ मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर सुरक्षा निकाय सक्रिय रूपमा परिचालन गरिएको छ। प्रदेशस्तर तथा जिल्ला तहमा सुरक्षा समितिहरू गठन गरी काम अघि बढाइएको प्रहरीले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि सुदूरपश्चिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी परिचालन गरिनेछ भने बाहिरी सुरक्षा घेरामा नेपाली सेना रहनेछ। नेपाल प्रहरी मात्र सात हजारभन्दा बढी संख्यामा परिचालन गरिने प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ सिटका लागि २०६ जना उम्मेदवार—स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका—चुनावी प्रतिस्पर्धामा रहेका छन्।





