एमाले कैलाली–५ बाट राना, ढुगांना र सिजापती सिफारिस

कैलाली- नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि तीन जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। धनगढीमा बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले नारदमुनी राना, कैलाली जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुगांना र सरिता सिजापतीलाई उम्मेदवारका रूपमा माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।

नेकपा एमाले कैलाली जिल्ला कमिटीका उपसचिव चुडामणी भट्टका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय कमिटीले संगठन, जनसमर्थन, राजनीतिक अनुभव र क्षेत्रीय प्रभावको आधारमा तीनै जनालाई सिफारिस गरेको हो।

Navadurga sun

नारदमुनी राना यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भइसकेका व्यक्ति हुन्। पार्टीका निवर्तमान पोलिटब्युरो सदस्यसमेत रहेका राना पूर्व मन्त्री पनि हुन्। कांग्रेस नेतृ आरजु राणा देउवालाई पराजित गरेपछि उनी राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए। थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा राम्रो पकड बनाएका कारण रानालाई यस क्षेत्रको बलियो उम्मेदवारका रूपमा हेरिँदै आएको छ।

यस्तै, यज्ञराज ढुगांना हाल नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष हुन्। विद्यार्थी राजनीतिबाट उदाएका ढुगांना संगठन निर्माणमा सक्रिय भूमिका खेल्दै आएका नेता मानिन्छन्। पार्टीभित्रको संगठनात्मक अनुभव र स्थानीय तहमा रहेको प्रभावका कारण उनी पनि बलियो प्रत्यासीका रूपमा अगाडि आएका छन्।

त्यसैगरी, सरिता सिजापती दलित तथा महिला समुदायमा राम्रो पकड भएकी नेतृका रूपमा परिचित छिन्। सामाजिक अभियान, संगठन विस्तार तथा महिला नेतृत्व विकासमा सक्रिय रहँदै आएकी सिजापतीलाई समावेशी प्रतिनिधित्वका हिसाबले पनि महत्वपूर्ण उम्मेदवारका रूपमा हेरिएको छ।

एमालेले कैलाली–५ लाई रणनीतिक रूपमा महत्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिएको छ। त्यसैले पार्टीले जित सुनिश्चित गर्न अनुभवी, संगठनमा पकड भएका तथा समुदायमा प्रभाव राख्ने उम्मेदवारहरूलाई सिफारिस गरेको नेताहरूको भनाइ छ। अब माथिल्लो कमिटीको निर्णयपछि अन्तिम उम्मेदवार टुंगो लाग्ने जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...