


अत्तरिया- कैलालीको अत्तरियामा जारी सृजनशील सांस्कृतिक महोत्सव आज पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन हुँदैछ । महोत्सवको आज सातौं दिनको कार्यक्रममा महोत्सवमा लोकप्रिय गायक चक्र बम, गायिका रचना रिमाल, डान्सर स्मारिका ढकाल, नायक प्रभात पाल ठकुरी, गायक लाल बोगटी, अमर राना लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।


आयोजकले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ ।


पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको यो महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत–संगीत तथा मनोरञ्जनात्मक प्रस्तुति रहने जनाइएको छ ।

आयोजकले आगामी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिँदै दर्शकलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेको छ ।

सृजनशील युवा क्लबले २०६६ सालदेखि २०७१ सालसम्म महोत्सव आयोजना गर्दै आएको थियो । २०७२ सालमा क्लबले महोत्सवको जिम्मेवारी अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको भए पनि विविध कारणले निरन्तरता दिन नसकिएपछि क्लबले पुनः महोत्सव आयोजना गरेको जनाएको छ ।
यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू पनि महोत्सवमा समावेश गरिएको छ ।
महोत्सवका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य दर्शकका लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।





