सुदूरपश्चिममा रेबिजको जोखिम बढ्दो, मानव र पशु दुवै प्रभावित

धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ। जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको हो।

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ। उनका अनुसार पछिल्ला तीन वर्षमा ३७१ पशुमा रेबिज पुष्टि भइसकेको छ। “यो त प्रयोगशालामा जानकारी आएको मात्र हो,” जोशीले भने, “यसबीच कम्तीमा पाँच जना मानिसको रेबिजकै कारण मृत्यु भएको जानकारी छ, तर धेरै घटना रिपोर्टमै नआउने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुनसक्छ।”

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० वर्षीया महिलाको रेबिजका कारण मृत्यु भएको पुष्टि भएको छ। यसअघि असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजकै कारण ज्यान गएको थियो। सङ्क्रमण सबैभन्दा बढी कैलाली र कञ्चनपुर जिल्लामा देखिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित १७० नमूनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ। तीमध्ये कैलालीमा ९८ नमूनामध्ये ७८ पोजेटिभ, कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा ७ मध्ये ५, बझाङमा ३ र डोटीमा ८ मध्ये ६ पोजेटिभ नतिजा आएको छ। कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ र १२ मा बहुला कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ। शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार उखु कटानीका कारण स्यालको प्राकृतिक बासस्थान नष्ट हुँदा उनीहरू मानव बस्तीमा पस्न थालेका हुन्।

पशु चिकित्सकहरूका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै सावधानी अपनाए ज्यान बचाउन सकिन्छ। कुनै पनि पशुले टोकेमा घाउलाई १०–१५ मिनेटसम्म साबुन र सफा पानीले धुने, तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउने तथा असामान्य व्यवहार गर्ने पशु देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

Loading...