सुदूरपश्चिममा नम्बरविहीन क्रियाशील सदस्यता फारम, कांग्रेसभित्र विवाद

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा क्रमसंख्या र सदस्यता नम्बर नउल्लेख भएका नयाँ क्रियाशील सदस्यता फारम पठाएको विषय विवादमा परेको छ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिबाट यस्ता फारम सुदूरपश्चिम पठाइएपछि प्रदेश कार्यसमितिले तत्काल फारम नभरिन मातहतलाई निर्देशन दिएको छ। प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेका अनुसार नम्बरविहीन फारम भर्दा केन्द्रमा रेकर्ड नबस्ने, सदस्यतासमेत अमान्य हुन सक्ने र दुरुपयोगको जोखिम रहने भन्दै प्रदेश सभापतिले सबै जिल्लालाई फोनमार्फत रोक्न निर्देशन दिएका हुन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

प्रदेश कार्यसमितिले ८८ वटै स्थानीय तहमा कार्यक्रम गरेर इच्छुकहरूको सूची मात्र तयार गर्ने र केन्द्रबाट क्रमसंख्या तथा सदस्यता नम्बर उल्लेख भएका फारम आएपछि मात्रै भर्ने निर्णय गरेको छ। आजै परिपत्र जारी गर्ने तयारीसमेत गरिएको छ।

तर, समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले यसलाई ठूलो मुद्दा नबनाउनुपर्ने बताएका छन्। छिटो–छिटो प्रक्रिया अघि बढाउने क्रममा प्रेसबाट सिरियल नम्बर नहालिकनै फारम गएको उनको भनाइ छ। प्राविधिक रूपमा पछि सिरियल मिलाउन सकिने र दुरुपयोग नहुने उनले दाबी गरे।

कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि करिब साढे सात लाख फारम जिल्लामा पठाइसकेको छ। आगामी महाधिवेशनका लागि प्रतिशत नतोकी बढीभन्दा बढी नयाँ सदस्यता वितरण गर्ने नीति लिएको कांग्रेसले सदस्यता वितरणमा समावेशीता, १८–३० वर्षका युवालाई प्राथमिकता तथा विभिन्न समुदाय र पेशागत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।

नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसमा यसअघिदेखि नै विवाद हुँदै आएको छ, र यस पटक पनि प्रक्रिया सुरु हुनासाथ असन्तोष देखिन थालेको छ।

Loading...