राप्रपाद्वारा मंसिर २३ मा काठमाडौंमा बृहत् आन्दोलन घोषणा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक परिस्थिती र आगामी नयाँ राजनीतिक सहमतिको आवश्यकता औँल्याउँदै मंसिर २३ गते काठमाडौंको रत्नपार्कमा बृहत् आन्दोलन गर्ने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले गर्ने र तयारी तथा परिचालनका लागि विशेष आन्दोलन परिचालन समिति गठन गरिएको छ ।

समितिमा अर्का प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रबिन्द्रप्रताप शाह र धनबहादुर बुढा सदस्य रहेका छन् । समितिको पहिलो बैठक बुधबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको हो । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं उपस्थित रहँदै आन्दोलनका एजेन्डा, व्यवस्थापन पद्धति र सञ्चालनका रणनीतिबारे निर्देशन दिएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नेताहरूका अनुसार, २३ गतेको प्रदर्शनलाई शान्तिपूर्ण, संगठित र प्रभावशाली बनाउन आवश्यक तयारी तीव्र पारिएको छ। राप्रपाले यस आन्दोलनलाई जेनजी आन्दोलनपछि राजनीतिक दल, युवा पुस्ता र राजसंस्था बीच ‘नवीन समझदारी’ निर्माणका लागि ऐतिहासिक दबाबमूलक कदमको रूपमा व्याख्या गरेको छ ।

एक नेताका अनुसार, हालको परिवर्तित राजनीतिक अवस्थाले पहिल्यै राजतन्त्र हटाउने धारमा रहेका दलहरू समेत अब राजसंस्थाको भूमिकालाई पुनः परिभाषित गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्थायी राजनीतिक संरचना र साझा सहमतिबिना देश अस्थिरताबाट अघि बढ्न नसक्ने बताइएको छ ।

यसअघि राप्रपाले मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पाँच बुँदे ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्रमा आगामी निर्वाचनअघि सर्वपक्षीय सहमति निर्माण, दलहरू बीच विश्वसनीय संवाद, संवैधानिक संरचना सुधार, स्थिरताका लागि राष्ट्रिय सहमति र भविष्यमा आन्दोलन आवश्यक नपर्ने गरी स्पष्ट राजनीतिक मार्गचित्र निर्माण गर्नुपर्ने माग राखिएको छ ।

राप्रपाका नेताहरूले आगामी आन्दोलनलाई नयाँ सहमतिको मार्गप्रस्तावका रूपमा मुलुकलाई स्थिरताको दिशामा लैजाने दबाबमूलक प्रयास भएको भन्दै व्यापक जनसहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको जनाएका छन् ।

Loading...