


धनगढी- भाइटिकाको अवसरमा धनगढीस्थित नवजिवन अस्पतालले धनगढी–अत्तरिया रुटमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले आफ्नै नवजिवन नर्सिङ कलेजको बस प्रयोग गरी यात्रुहरूको सहजताका लागि यो सेवा उपलब्ध गराउने तयारी गरेको हो।


अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खडायतका अनुसार भाइटिकाको दिन बजारमा सवारीसाधनको अभाव हुने भएकाले सर्वसाधारणलाई सहज आवागमनको सुविधा मिलोस् भन्ने उद्देश्यले यो पहल गरिएको हो।



उनका अनुसार, “टिकाको दिन सार्वजनिक यातायात कम चल्ने भएकाले सर्वसाधारणले कठिनाइ नहोस् भन्ने हेतुले हामीले निशुल्क बस सेवा सञ्चालन गर्न लागेका हौं।”
अस्पतालले यो सेवा गोदावरी नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्न लागेको जनाएको छ। यसअघि पनि दशैंको समयमा नवजिवन अस्पतालले धनगढी क्षेत्रमा निशुल्क बस सेवा सञ्चालन गरेको थियो, जसले स्थानीयवासीबाट राम्रो प्रशंसा पाएको थियो।
यसैबीच, गोदावरी नगरपालिकाले पनि अत्तरिया–चौमाला र अत्तरिया–ओलानी–गौडीबजार चोकसम्म निशुल्क बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
स्थानीय तह र संस्थाहरूको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने यी सेवाहरूले भाइटिकाको दिन सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।





