धनगढी- धनगढीमा यस वर्ष तिहार सुरु हुन नपाउँदै फूलको अभाव भएको छ। भाइटीकाको अघिल्लो दिनसम्म नै धनगढीका किसानले उत्पादन गरेको करिब ६० क्विन्टलभन्दा बढी फूल बिक्री भइसकेको छ।

स्थानीय किसानले व्यावसायिक रूपमा उत्पादन गरेको सबै फूल सकिएपछि बजारमा फूलको अभाव देखिएको हो। धनगढी उपमहानगरपालिका क्षेत्रका नौ जना किसानले यस वर्ष व्यावसायिक रूपमा फूलखेती गरेका थिए। तर, भाइटीकाको एक दिन अघि नै सम्पूर्ण फूल बिक्री भएसँगै स्थानीय बजारमा माग अनुसारको फूल पाइँदैन।


उपमहानगरपालिकाको प्रवेशद्वारमा रहेको फूल बिक्री केन्द्रमा बुधबार दिउँसोसम्म सबै फूल सकिएको न्यू बन्डोली नर्सरी कन्सर्नका सञ्चालक शङ्करसिंह बिष्टले बताए।
उनका अनुसार धनगढी–६ मटियारीस्थित २२ कट्ठा क्षेत्रफलमा गरिएको फूलखेतीबाट उत्पादन भएको सबै फूल बिक्री भइसकेको हो। बिष्टले भने, “हामीले समूहका अन्य सदस्यहरूसँग मिलेर फूल बिक्री गरेका थियौं। सबैको स्टलमा रहेका फूल सकिए, कोपिलासमेत बिक्री भए। मैले मात्र करिब सात लाख रुपैयाँ बराबरको फूल बिक्री गर्न सफल भएँ।”
उनका अनुसार यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन राम्रै भएको थियो। तर, माग अत्यधिक भएकाले फूल चाँडै सकिएको हो। फूलखेतीमा संलग्न किसानहरूले धनगढीमा उत्पादन भएका गेंदा, गोदावरी, र अशोकर फूलको बिक्री उच्च भएको बताएका छन्। तिहारमा घरघरमा सजावट र पूजाका क्रममा फूलको प्रयोग बढ्ने भएकाले हरेक वर्षजस्तै यस वर्ष पनि फूलको माग तीव्र बनेको हो। फूलको अभाव भएपछि अहिले धनगढी बजारमा बाहिर बाट फूल ल्याउने तयारी भइरहेको व्यापारीहरूले जनाएका छन्।
तर, यातायात र समयको कारणले स्थानीय बजारमा मूल्य वृद्धि हुने सम्भावना रहेको अनुमान गरिएको छ। स्थानीय स्तरमै उत्पादन बढाउने प्रयास भइरहे पनि धनगढी र आसपासका क्षेत्रहरूमा मागअनुसारको फूल उत्पादन गर्न किसानहरू अझै सक्षम हुन सकेका छैनन्।
