अत्तरिया- राजधानीमा कार्तिक १५ गतेदेखि सुरु हुने नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डरले सहभागिता जनाउने भएको छ ।




टिमका मालिक अरुण भण्डारीले मंगलबार कैलालीको गोदावरीमा आयोजित पत्रकार सम्मेलनमा टिमको घोषणा गर्दै प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने जानकारी दिए। देशभरका सातवटा प्रदेशका सात टोली सहभागी हुने प्रतियोगिता देशकै पहिलो टेनिस बल टि–१० फम्र्याटमा आयोजना हुन लागेको हो।


भण्डारीका अनुसार टिमले अक्सनमार्फत ७ लाख ३५ हजार रुपैयाँमा खेलाडी खरिद गरेको छ। १६ सदस्यीय टोलीमा १२ जना खेलाडी सुदूरपश्चिमका रहेका छन्। टिमका मेनेजर बिक्रम बिष्ट, ब्रान्ड एम्बेसडर साइकिल यात्री भरत बिक्रम शाह र राष्ट्रिय टोलीका पूर्व खेलाडी मेहबुब आलम मार्कि प्लेयर रहेका छन्।
डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.द्वारा आयोजित प्रतियोगिता कार्तिक २५ गतेसम्म मुलपानी क्रिकेट मैदानमा चल्नेछ । विजेता टोलीले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।




