

धनगढी- धनगढी उपमहानगरपालिका–९ बङ्गरामा उत्पादन गरिएको सयपत्री फूलको माला पहिलोपटक बेलायत पठाइएको छ । बेलायतमा रहेका नेपालीले तिहारका लागि माग गरेपछि स्थानीय किसानहरूले फूलको माला बनाएर पठाएका हुन् ।


व्यावसायिक फूल खेतीमा संलग्न रोशन साउदका अनुसार तिहारका लागि करिब तीन सय थान सयपत्रीको माला बेलायत पठाइएको हो । “फूलका लागि धेरै अर्डर आएको छ,” साउदले भने, “यसअघि हामीले स्थानीय बजारमा मात्रै फूल र माला बिक्री गर्दै आएका थियौँ, यस वर्ष पहिलोपटक बेलायत पठाएका छौँ ।”



अछामको मेल्लेख गाउँपालिका–३ का रोशन साउद, दशरथ साउद र कपिलवस्तुका भास्कर पङ्गेनीले बङ्गरामा २२ कट्ठा जग्गा भाडामा लिएर चार वर्षदेखि फूल खेती गर्दै आएका छन् । ती तीनै कृषि प्राविधिकले धनगढी, दाङ, बाँकेको कोहलपुर र कपिलवस्तुमा गरी करिब नौ बिघा क्षेत्रफलमा पुष्प खेतीलगायत अन्य कृषि बाली उत्पादन गर्दै आएका छन् ।
तिहार नजिकिएसँगै सयपत्री फूल बारीमा ढकमक्क फुलिसकेको छ । साउदका अनुसार यस वर्ष फूल उत्पादन राम्रो भएको छ र माला गाँस्ने काममा ६० देखि ७० जना स्थानीयले रोजगारी पाएका छन् ।
साउदले बताए अनुसार, यस वर्ष तिहार छिट्टै परेका कारण र राम्रो उत्पादनले किसानहरूलाई अधिक नाफाको अपेक्षा जगाएको छ । उनका अनुसार, दी डिभाइन एग्रो फार्म नर्सरी एन्ड रिसर्च सेन्टरमार्फत सयपत्री फूल प्रतिकिलो ५०० रुपैयाँमा र माला प्रति थान १०० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ ।