

आज कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार पर्व मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने कागलाई मीठोमीठो खानेकुरा, विशेषगरी दहीभात चढाएर पूजा आराधना गर्ने परम्परा रहिआएको छ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बिहान सूर्योदयकालमा त्रयोदशी परेको भएकाले आज आइतबार काग तिहार मनाउनुपर्ने शास्त्रीय निर्णय गरिएको हो।


शास्त्रअनुसार यमराजले लोकका खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतको रूपमा मानिन्छ। कागले यमराजसमक्ष राम्रो खबर पुर्याओस् भन्ने कामना गर्दै आजका दिन दहीभातसहितका मीठा परिकार खुवाइन्छ। लोक विश्वासअनुसार काग घर वरिपरि आएर कराएमा शुभ समाचार ल्याएको मानिन्छ।

“काकेन दधि भक्षितम्” भन्ने वैदिक भनाइअनुसार कागलाई दहीभात मन पर्ने भएकाले आज दहीभात खुवाउने परम्परा चलिआएको हो।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना भइरहेका छन्। हनुमानढोकास्थित मन्दिरमा कागको ठूलो मूर्तिसमेत स्थापित गरिएको छ।
यसैबीच, शनिबार बेलुकीदेखि सुरु भएको यमपञ्चकअन्तर्गत यमदीपदानको क्रम पनि जारी छ। दक्षिणमुखी दीपदान गरे यमयातनाबाट मुक्ति पाइने धार्मिक मान्यता छ।
तिथिको घटबढका कारण शनिबार नै धनतेरस पर्व पनि मनाइएको थियो। यस दिन गरगहना तथा तामाका भाँडाकुँडा किनेमा लक्ष्मी स्थिर रहने धार्मिक विश्वास रहिआएको छ।