

लक्ष्मी भट्ट/अत्तरिया- मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शुक्रबार अत्तरियास्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका निवर्तमान उपाध्यक्ष केशव दत्त जोशी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी र संस्थाका निवर्तमान अध्यक्ष राजु भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव निरज कार्कीले गर्नु भएको थियो भने सञ्चालन प्रबन्धक कमल सिंह विश्वकर्माले गर्नु भएको थियो ।


अध्यक्ष पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा हाल ७२० जना शेयर सदस्य र १५ जना कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल शेयर पुँजी रु. २ करोड २९ लाख ७८ हजार ५०० पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा रु. १ लाख ५९ हजार १०० ले घटेको हो । तर, सोही अवधिमा बचत निक्षेपमा भने उल्लेख्य वृद्धि भएको छ ।

कुल बचत निक्षेप रु. १ करोड ६५ लाख ८० हजार ९६ ले बढेर १२ करोड ७० लाख २६ हजार ७९९ पुगेको छ । यस वर्ष संस्थाले रु. १८ लाख ३१ हजार १७५ खुद नाफा आर्जन गरेको छ भने गत वर्षको नाफा रु. १९ लाख २८ हजार २८१ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि जोशीले मानाङ्क सहकारी यस क्षेत्रमा अग्रणी सहकारी संस्था रहेको बताउनुभयो । उहाँले आफू पनि विगतमा सहकारीको उपाध्यक्ष भई काम गरेको अनुभव साझा गर्दै सहकारीप्रति विश्वासिलो हुन सदस्यलाई आग्रह गर्नुभयो । “शेयर सदस्य नै सहकारीका वास्तविक मालिक हुन्, त्यसैले सदस्यहरूले संस्थाको प्रगतिका लागि अझ सचेत र सक्रिय हुनुपर्छ,” उहाँले भन्नुभयो ।
विशिष्ट अतिथि दिव्यराज जोशीले सहकारी संस्था भनेको ठगी गर्ने संस्थाको प्रतिक होइन भन्नेमा जोड दिनुभयो । उहाँले गोदावरी नगरपालिकाले सहकारी क्षेत्रलाई शुद्ध र व्यवस्थित बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभयो । “गल्ती गर्ने सहकारीलाई कारबाही हुन्छ, तर इमानदारीपूर्वक काम गर्ने सहकारीलाई नगरपालिकाले सधैं सहयोग गर्नेछ,” उहाँले भन्नुभयो ।
उहाँले सहकारीहरूलाई अझ पारदर्शी र सेवामुखी बनाउनुपर्नेमा जोड दिँदै शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीबीच आपसी एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वक्ताहरूले सहकारीले १४ वर्षदेखि निरन्तर सदस्यहरूको पक्षमा काम गर्दै आएको, आफ्नै भवन र जग्गा किनेर अब्बल सहकारीको परिचय बनाउन सफल भएको भन्दै सहकारीलाई अझ विस्तार र सबलीकरण गर्नुपर्ने धारणा राखेका थिए ।