

अत्तरिया- कैलालीका ३ वटा पालिकामा साउन ११ गते आइतबार सार्वजनिक विदा दिएको छ । रानाथारु समुदायले मनाउने तीज पर्वको अवसरमा गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र पुनर्वास नगरपालिकाले साउन ११ गते स्थानीय सार्वजनिक विदा दिएको हो ।


गोदावरी नगरपालिकाले पनि २०८२ साउन ३ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन स्थानीय विदा दिने निर्णय गरेको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय र विद्यालय बन्द रहने जानकारी दिएका छन् ।



धनगढी उपमहानगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको हो । सोही निर्णयानुसार स्थानीय विदा दिएको नगरप्रमुख गोपाल हमालले बताए । विदाको दिन धनगढी उपमहानगरस्थित सरकारी कार्यालय, शैक्षिक संघ संस्थालगायत बन्द रहने जनाइएको छ ।
यसैबीच, कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि तीज पर्वका अवसरमा साउन ११ गते एक दिनका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
राना थारू समुदायमा विशेष महत्वका साथ मनाइने तीज पर्व महिलाले सामूहिक रूपमा पूजाआजा, नाचगान र सांस्कृतिक परम्पराअनुसार मनाउने प्रचलन छ । समुदायको संस्कृतिप्रति सम्मान प्रकट गर्न स्थानीय तहहरूले सार्वजनिक विदा दिने गरेका छन् ।





