टीकापुरमा अभिभावक विहीन बालबालिकाका लागि संरक्षण केन्द्र बन्दै

टीकापुर- कैलालीको टीकापुर नगरपालिकाले अभिभावक विहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ । नगरपालिकाले टीकापुर–१ वनगाउँ स्थित सरस्वती माविमा संरक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ ।

विद्यालयमा ५० बालबालिका अट्ने संरक्षण केन्द्र निर्माण भइसकेको छ । पालिकाले ४० विद्यार्थीलाई यस वर्ष नयाँ शैक्षिक शत्र देखि संरक्षणमा राख्न सकिने गरी तयारी थालेको छ । यसका लागि रु २० लाख बजेटको व्यवस्था गरिएको शिक्षा अधिकृत नरेश अवस्थीले बताए ।

Navadurga sun

‘अभिभावकविहीन बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगाउने उद्देश्य हो, बालबालिकाको आवास तथा गासकै समस्या रहेकाले शैक्षिक विकासमा समस्या देखिएको छ’, उनले भने, ‘अभिभावक नभएका बालबालिकाको संरक्षण पालिकाको जिम्मेवारी हो । उनीहरूले पढ्न पाउनु उनीहरूको नैसर्गिक अधिकार भएकाले हामीले संरक्षण केन्द्र सञ्चालन गर्न थालेका हौँ ।’
पालिकाले शैक्षिक वर्ष २०८२ देखि लागू हुने गरी संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ ।

केन्द्रमा पालिका भित्रमा स्थायी बसोबास भएका बालबालिका बस्न पाउनेछन् । सरस्वती मावि बनगाउँले विद्यार्थी भर्नाका लागि गत माघ ३ गते नै सूचना निकालिसकेको छ । अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्रमा नयाँ विद्यार्थी भर्नाका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय गरी अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ परिच्छेद ५ को उपदफा १ बमोजिम सूचना निकालिएको प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरले बताए ।

‘पालिकाले छात्रावासका लागि बजेट विनियोजन गरेको छ, हामीसँग यस अघि नै छात्रावास छ’, उनले भने, ‘विगतमा मुक्त कमलहरी बसिरहेका थिए । उनीहरूले कक्षा १२ सम्मको पढाई सकेकाले छात्रावास खाली थियो ।’ छात्रावासमा १६ वर्षमुनिका बालबालिकालाई मात्र भर्ना लिइनेछ । असहाय केन्द्रमा बस्नका लागि हाल सम्म करिब २० बालबालिकाले आवेदन दिएका छन् । पालिकाले संरक्षण केन्द्रमा राखेर अभिभावक विहिन बालबालिकालाई कक्षा १२ सम्म लालनपालन र शिक्षा दिनेछ ।

जनप्रकाश आधारभूत विद्यालय टीकापुर–४ का प्रधानाध्यापक रघुनाथ उपाध्याय अभिभावकविहीन बालबालिकालाई विभिन्न सङ्घसंस्थाले संरक्षण गरिरहेको अवस्थामा सरकार आफैँले दायित्व निर्वाह गर्नु सकारात्मक भएको बताए । ‘सरकार आफैँले बालबालिका संरक्षण गर्नु जिम्मेवारी बोध गर्नु हो’, उनले भने, ‘बालबालिकाको शिक्षामात्र नभई पोषण र सुरक्षामा समेत सहयोग पुग्छ ।’

अभिभावक विमला चौधरी पालिकाले संरक्षण केन्द्र स्थापनामा सघाएमा अभिभावक नभएका छोरीहरुको सुरक्षा हुने बताउँछिन्। ‘अभिभावक नभएका धेरै छोरीहरु अर्काको घरमा काम गर्नुपर्ने अवस्था छ, सङ्घसंस्थाले पनि संरक्षणका नाममा काममा लगाउँछन्’, उनले भनिन्, ‘सरकारले व्यवस्था गरेमा उनीहरुका हरेक अधिकार सुरक्षित हुन्छन् । यो राम्रो कार्य हो ।’ रासस

ADD Khali jpg
Loading...