

धनगढी- नयाँ वर्षको दिन धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धनगढी जेसिजले बैशाख १ गते हुने ‘अब धनगढी दौडिन्छ’ को तयारीमा जुटेको जनाएको हो ।




धनगढी जेसिजले १ बैशाख, २०८२ मा आयोजना गर्न लागेको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता ११ औं संस्करण रहेको हो । धनगढी जेसिजल सन् २०१४ बाट यो प्रतियोगिता नियमित रुपमा नयाँ वर्षको दिन आयोजना गर्दै आइरहेको छ ।


प्रतियोगिता १० औं संस्करण देखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरिसकेको आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले नगद ७५ हजार, उप–विजेताले ५० हजार र तेश्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछन् । हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटास्थित मनेहरा पुल हुँदै पुनः धनगढी रंगशाला पुगेर समापन हुने संयोजक दिपक गौतमले बताए ।
त्यस्तै प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र संचारको ५ कि.मी. दौड आयोजना गरिने छ । धनगढी जेसिजका महासचिव आशिष शाहले विजेताले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छ भने उप–विजेताले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

